Press Release regarding National Democracy day 18-Feb-2018

प्रेस विज्ञप्ती

६८ औं राष्ट्रिय प्रजातन्त्र दिवस-२०७४ को उपलक्ष्यमा नेपाली राजदूतावास, ओटवा, क्यानडाले  आज फेब्रुअरी १८, २०१८ का दिन नेपाली राजदूतावास परिसरमा एक स्वागत समारोहको आयोजना गर्‍यो।

कार्यक्रममा उपस्थित अतिथिहरुलाई स्वागत गर्दै क्यानडाका लागि नेपालका महामहिम राजदूत श्री कालीप्रसाद पोखरेलले नेपाली जनताको लामो संघर्ष र वलिदानबाट प्राप्त उपलब्धीहरुलाई संस्थागत गर्ने दिशामा वि ।सं । २०७२ मा नयाँ संविधान जारी भई हालै मात्र संघ, प्रदेश र स्थानीय निकायको चुनाव सम्पन्न भई नयाँ संविधान अनुरुप संघीय, प्रादेशिक तथा स्थानीय सरकारहरुको समेत गठन भएको र यसले मुलुकमा रहेको लामो समय देखिको राजनीतिक संक्रमणको अन्त्य भएको कुरा बताउनु भयो।

शहीदहरुप्रति श्रद्वाञ्जली अर्पण गर्दै वहाँले राजनीतिक स्थायित्वसँगै आर्थिक विकासको गतिलाई पनि तीव्र बनाउनु आवश्यक भएको बताउँदैं नेपाल सरकारले गैरआवासीय नेपाली नागरिकता समेतका माध्यमबाट विदेशमा रहेका नेपाली समुदायलाई पनि मुलुकको विकासको मूलधारमा समेट्ने प्रयास गरेको बताउनु भयो।वहाँले व्यापार, लगानी र पर्यटन प्रवर्द्वनको माध्यमबाट नेपाल-क्यानडाबीचको द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउँदै नेपालको आर्थिक विकासमा सहयोग पुर्‍याउन क्यानडाका नेपाली समुदायलाई अनुरोध गर्नुभयो।

त्यसैगरी, ओटवास्थित नेपाली समुदायको संस्था नेप्लिज् क्यानेडियन एशोसियसन अफ ओटवाका प्रतिनिधि श्री प्रभाकर रेग्मीले प्रजातन्त्र दिवस कार्यक्रम आयोजना गरेकोमा नेपाली राजदूतावासलाई धन्यवाद दिंदैं शुभ-कामना व्यक्त गर्नुभयो। साथै, कार्यक्रममा गैरआवासीय नेपाली संघ-क्यानडाका पूर्व उपाध्यक्ष श्री सुरेन उप्रेतीले प्रजातन्त्र दिवसको शुभ-कामना व्यक्त गर्नु भयो। वहाँले गैरआवासीय नेपाली संघले नेपाली भाषा , साहित्यको सम्वर्द्वन गर्ने सन्दर्भमा विदेशमा रहेका नेपाली  बालबालिकाहरुलाई नेपाली भाषाको ज्ञान प्रदान गर्ने उद्देश्यले कक्षा १ देखि ८ सम्मको नेपाली पाठ्य पुस्तक प्रकाश गरी पठन-पाठन आरम्भ गरिएको जानकारी गराउनु भयो।

कार्यक्रममा महामहिम राजदूतले नेपालको राष्ट्रिय झण्डाको झण्डोत्तोलन गर्नु भएको थियो भने सम्पूर्ण ज्ञात-अज्ञात शहीदहरुको संझानामा एक मिनेट मौन धारण गरिएको थियो। कार्यक्रममा ओटवामा रहेका विभिन्न नेपाली संघ संस्थाका प्रतिनिधिहरु र अटोवामा बसोबास गर्ने नेपालीहरुको उल्लेखनीय सहभागिता रहेको थियो।

श्री नेपाली राजदूतावास
ओटवा, क्यानडा।
२०७४/११/६