Press Release regarding National day 23-Sep-2016

प्रेस-विज्ञप्ति

नेपाली राजदूतावास, ओटवाले हिजो मिति २०७३ असोज ७ गते तदनुसार २३ सेप्टेम्वर २०१६ का दिन एक एक स्वागत समारोहको आयोजना गरी भव्यताका साथ नेपालको राष्ट्रिय दिवश मनाएको छ। नेपाल र क्यानडाका राष्ट्रिय धुन बजाई शुरु गरिएको स्वागत समारोहमा उपस्थित अतिथिहरुको स्वागत गर्दै महामहिम राजदूत श्री कालीप्रसाद पोखरेलले ठीक एक वर्ष अघि निर्वाचित संविधान-सभाको भारी बहुमतले पारित गरी नेपालको नयाँ संविधान जारी भएर नेपाल आर्थिक विकासको दिशामा अघि बढेको बताउनु भयो। वहाँले नेपालको संविधानले समावेशी र समानुपातिक प्रतिनिधित्व, लोकतन्त्र, मानवअधिकार र कानूनी शासनको अन्तर्राष्ट्रिय मान्यातालाई पूर्णरुपमा आत्मसात गरेको पनि बताउनु भयो।

नेपालमा गत वर्ष गएको विनाशकारी भूकम्पबाट जनधनको ठूलो क्षति भएको उल्लेख गर्दै वहाँले भूकम्पपछिको उद्दार र राहतमा क्यानडा सरकार र जनता तथा अन्तर्राष्ट्रिय समुदायले देखाएको अभूतपूर्व सहयोग, समर्थन र एकताले विनाशको सामाना गर्न नेपाल सरकार र जनतालाई ठूलो हौसला मिलेको भन्दै पुनःनिर्माणमा क्यानडा सरकारले गरेको सहयोगप्रति समेत आभार व्यक्त गर्नुभयो। साथै, वहाँले भूकम्पपछिको पुनःनिर्माणका लागि सरकारले छुट्टै प्राधिकरणको गठन एवं आवश्यक ऐन, कानूनको निर्माण गरी पुनःनिर्माणको कार्य तिव्रताका साथ अगाडि बढाई सकेको जानकारी पनि गराउनु भयो।

सन् १९६५ मा कूटनीतिक सम्बन्ध स्थापना भए देखि नै नेपाल र क्यानडा बीचको सम्बन्ध सदैव सुमधुर रहदैं आएको र दुई देशका जनताहरु एक अर्का प्रति आदार र सम्मानको भावले हेर्ने गरेको बताउनु भयो। सम्बोधनका क्रममा महामहिम राजदूत श्री पोखरेलले क्यानडामा नेपालीमूलका करिब ४० हजार नागरिकहरुको उपस्थिति एवं नेपाल भ्रमण गर्ने एवं विभिन्न क्षेत्रमा क्रियाशील क्यानेडियन नागरिकहरुको संख्या पनि उल्लेख्य रहेकोले यसले दुई देशबीचको जनस्तरको सम्बन्धलाई मजबुत बनाउन योगदान पुर्‍याएको बताउनु भयो।

महामहिम राजदूतले संविधानको प्राप्तिसँगै नेपालमा वैदेशिक लगानीको वातावरण अनुकूल बनेको भन्दै वहाँले नेपालले सरल र सहज लगानीमैत्री वातावरण अवलम्वन गरेको जानकारी गराउँदै नेपालका जलस्रोत, पर्यटन, पूर्वाधार विकास कृषि, सेवा क्षेत्र लगायतका प्राथमिकताका क्षेत्रमा लागानी गर्न लगानीकर्ताहरुलाई अनुरोध समेत गर्नुभयो।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै क्यानडाको संसदको परराष्ट्र मामिला तथा अन्तर्राष्ट्रिय विकास स्थायी समितिका सभापति Hon. Robert D. Nault ले नेपाल र क्यानडाबीच सदैव सुमधुर सम्बन्ध रहँदै आएको र यो सम्बन्ध दुई देशबीच औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएपश्चातका हरेक वर्षहरुमा झन मजबुत हुँदै आइरहेको बताउनु भयो। नेपालको नयाँ संविधानका विषयमा यस अघि महामहिम राजदूतबाट आफूले विस्तृत जानकारी समेत पाएको बताउदैं प्रजातान्त्रिक संविधान जारी भएपछि नेपालले राजनीतिक स्थायित्व र आर्थिक विकासमा प्रगति हासिल गर्ने विश्वास राख्दै नेपाली जनतालाई राष्ट्रिय दिवशको अवसरमा शुभ-कामना व्यक्त गर्नुभयो। साथै, वहाँले नेपालले संयुक्त राष्ट्र संघ मार्फत अन्तर्राष्ट्रिय शान्ति तथा सुरक्षा कायम गर्न दिशामा खलेको भूमिकाको पनि प्रशंसा गर्नुभयो। वहाँले गत जुन महिनामा काबुलस्थित क्यानडाको राजदूतावासको सुरक्षार्थ खटिएका नेपाली सुरक्षा गार्डहरुको आक्रमणमा परी मृत्यु भएकोमा Hon. Nault ले क्यानडा सरकार र जनताको तर्फबाट गहिरो समावेदना व्यक्त गर्नुभयो।त्यसैगरी, गतवर्ष नेपालमा गएको विनाशकारी भूकम्पको बेला क्यानडा सरकार र जनताले गरेको सहयोग र देखाएको सद्भावको बारेमा पनि चर्चा गर्नुभयो।

स्थानीय ओटवा सीटी हलमा आयोजना गरिएको उक्त कार्यक्रममा क्यानडाको संसदका सदस्य Hon. Chandra Arya, नेपालका लागि क्यानडाका महामहिम राजदूत Mr Nadir Patel,  क्यानडाको सूचना आयोगका प्रमुख Ms Suzanne Legault, विदेश मन्त्रालयको दक्षिण तथा दक्षिणपूर्व एशिया महाशाखाका प्रमुख Ms Julia Bentley,  Trade Commissioner Mr Carmen Porter, अन्तर्राष्ट्रिय सहयोग विभागका कार्यकारी निर्देशक Mr Tariq Khan, दक्षिण एशिया निर्देशक Mr Robert Dougall  लगायत अन्य अधिकारीहरु, Royal Canadian Mounted Police (RCMP) एवं अन्य सरकारी निकायका अधिकारीहरु, ओटवास्थित विभिन्न देशका महामहिम राजदूत एवं प्रतिनिधिहरु, पूर्वराजदूत तथा कूटनीतिज्ञहरु, Trade Facilitation Office Canada का प्रमुख एवं अन्य प्रतिनिधिहरु, विश्व विद्यालयका प्राध्यापकहरु, विद्यालयका शिक्षकहरु, बैंकका प्रतिनिधिहरु, संचार माध्यमका प्रतिनिधिहरु, गैरआवासीय नेपाली संघ तथा अन्य नेपाली समुदायका संघ-संगठनका पदाधिकारी एवं प्रतिनिधिहरु  समेतको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रम स्थललाई नेपालका प्राकृतिक, साँस्कृतिक तथा अन्य पर्यटकीय स्थलहरुका तस्विरहरुले सजावट गर्नुका साथै पर्यटन प्रवर्द्वन सम्बन्धी डकुमेन्ट्री प्रदर्शन तथा पर्यटन प्रवर्द्वन सम्बन्धी जानकारीमूलक सामग्रीहरु पनि वितरण गरिएको थियो।

नेपाली राजदूतावास, ओटवा, क्यानडा
२०७३/६/८ (सेप्टेम्वर २४, २०१६)