ICAO 2016

प्रेस विज्ञप्ति

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (ICAO) को मुख्यालय मन्ट्रियलमा सेप्टेम्वर २७ देखि अक्टोवर ७, २०१६ सम्म संचालन भईरहेको ICAO को ३९ औं महासभामा भाग लिन आउनु भएका माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री श्री जीवन बहादुर शाहीले आज महासभालाई सम्बोधन गर्नुहुँदैं नेपालको हवाई उड्डयन क्षेत्रलाई सुरक्षित तथा भरपर्दो बनाउन नेपाल सरकार क्रियाशील रहेको जानकारी गराउनु भयो।

आजको महासभाको पहिलो वक्ताका रुपमा सम्बोधन गर्दै माननीय मन्त्री शाहीले अधिकांश भू-भाग हिमाल र पहाडले ओगटेको नेपालका लागि सुरक्षित हवाई उड्डयन अत्यन्त महत्वपुर्ण रहेको भन्दै नेपालको पर्वतीय पर्यटनको विकासमा हवाई उड्डयनको ठूलो योगदान रहेको उल्लेख गर्नुभयो।

वहाँले ICAO को सन् २०१३ को नेपालको हवाई उड्डययन सम्बन्धी ICVM प्रतिवेदनमा उल्लेख गरिएका महत्वपूर्ण सुरक्षा चासोका विषयलाई सम्बोधन गर्न नेपालले ICAO समेतको सहयोगमा महत्वपूर्ण कार्यहरु गरी रहेको र पछिल्लो तथ्याङ्कले नेपाल ICAO सुरक्षा मापदण्डको प्रभावकारी कार्यान्वयनमा विश्वका सरदर मुलुकहरुको नजिक पुग्न लागेको देखाएको भन्दै नेपालले शीघ्र ICAO को मापदण्डमा उल्लेखित सुरक्षा चासोका विषय सम्बोधन गरिसक्ने विश्वास व्यक्त गर्नुभयो। वहाँले जापान सरकारको सहयोगमा Monopulse Secondary Surveillance Radar (MSSR) आयोजना संचालन गरी कार्य गरिरहेको पनि सभालाई जानकारी गराउनु भयो।

सेप्टेम्वर २७, २०१६ का दिन क्यानडाका यातायात मन्त्री, ICAO परिषद्का वर्तमान अध्यक्ष, ICAO का महासचिव र मन्ट्रियलका मेयरले संयुक्त रुपमा उदघाटन गर्नुभएको ICAO को ३९ औं महासाभामा नेपालबाट माननीय संकृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको नेतृत्वमा क्यानडाका लागि नेपालका राजदूत तथा ICAO का प्रतिनिधि, नेपाल नागरिक उड्डययन प्राधिकरणका महानिर्देशक, पर्यटन मन्त्रालयका सम्बन्धित महाशाखाका प्रमुखहरु, नेपाल वायुसेवा निगमका प्रवन्ध निर्देशक लगायतका अधिकारीहरु नेपाली प्रतिनिधिमण्डलमा सहभागी हुनुहुन्छ।

ICAO का विभिन्न निकायका यस अघि सेप्टेम्वर २६, २०१६ का दिन भएको कार्यकारीहरुको अनौपचारिक बैठकमा अतिथिको रुपमा बोल्दै माननीय मन्त्री शाहीले हवाई उड्डयन सम्बन्धी पूर्वाधारको विकास तथा नो कन्ट्री लेफ्ट विहाइन्ड (No Country Left Behind) भन्ने ICAO को नारालाई मूर्तरुप दिन ICAO र विकसित मुलुक तथा हवाई उड्डयनसँग सम्बन्धित संघ-संस्थाहरुलाई हवाई उड्डयनको विकास कम भएका नेपाल लगायतका मुलुकहरुलाई सहयोग गर्न पनि अनुरोध गर्नुभयो।

माननीय संकृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीले अक्टोवर ३, २०१६ का दिन ICAO परिषद्का अध्यक्ष र  ICAO का महासचिवसँग संयुक्त भेटघाट गर्ने कार्यक्रम रहेको छ।

नेपाली राजदूतावास, ओटवा, क्यानडा
२०७३६१२